हाम्राे बारेमा - श्री हरिहर गुफा संन्यास आश्रम
श्री हरिहर गुफा संन्यास आश्रमकाे बारेमा
सुन्दर पर्यटकीय नगरी पोखराको पूर्वोत्तर भू-भागलाई (साविक भलाम गा.वि.स) हाल पोखरा महानगरपालिकाको वडा नं. २० मा समावेश गरिएको छ। आमतौरमा भला मानिसहरुले बसोबास गरिएको हुनाले यस वडालाई “भलाम” नामाकरण गरिएको भन्ने किंबदन्ती छ। समुन्द्र सतहबाट झण्डै १३०० मिटर उचाइमा रहेको यस वडा स्थित ऐतिहासिक श्री हरिहर गुफा संन्यास आश्रम पञ्चजुनाअखडा भारतका विख्यात साँधु दिगम्बरवर बाबाका वरद शिष्य श्री १०८ स्वामी अम्बर गिरीबाट झण्ड १८ औं शताब्दी आसपासतिर, वैदिक सनातन धर्म मुताबिक विधिवत स्थापना भएको अनुमान छ। भूगोलका पारखीहरु माझ “भू-स्वर्ग” उपनामले परिचित यस आश्रमका प्रधान इष्टदेवता “श्रीहरिहर” रहनु भएको छ, जसलाई धार्मिक तथा साम्प्रदायिक एकताको प्रतीकको रुपमा लिने गरेको पाइन्छ। यस अर्थमा कि, शैव र वैष्णवहरुको साझा मन्दिरको रुपमा रहिआएको छ। ध्यान साधनको दृष्टिले विलक्षण विशेषता बाेकेको यस आश्रम संस्थापकको विलक्षण स्थान छनौट क्षमताको परिचय, आश्रमको सर्वोपरी महत्व र विशेषताले पुष्टि गर्दछ। यस स्थलको अवस्थिति २८° १५’८” उत्तर अक्षांश र ८३° ५९’५९” पुर्व देशान्तरमा पर्दछ। यस आश्रमको उचाई नै यसको पहिचान र गरिमा हो। यहीबाट अन्नपूर्ण तथा माछापुच्छ्रे हिमश्रृङ्खलाको साथै सुन्दर पर्यटकीय नगरी पोखराको धेरै भन्दा धेरै भागको अवलोकन गर्न सकिन्छ भने साधनामा बाधा पुर्याउने तत्व र पक्षहरुको पहुँच र प्रभाव यहाँ सम्म पुग्न सकेको पाइँदैन ।
१. ऐतिहासिक पृष्ठभूमि
कास्की जिल्ला स्थित पोखरा उपमहानगरपालिका वडा नं. २० (साविक भलास गा.वि.स.को वडा नं. १ मा पर्ने भू-स्वर्ग” उपनाम समेतबाट परिचित मनोरम एवं चित्ताकर्षक अन्नपुर्ण तथा माछापुच्छ्रे हिम श्रृङ्खलाको काखमा र सुन्दर पर्यटकिय नगरी पोखराको मुकुटको रुपमा अवस्थित सरकारी निकाय र पदाधिकारीहरुको आँखाले नभेटेको तर सबै खाले धार्मिक र पर्यटकीय स्थलहरु मध्ये सर्वोपरी महत्वपूर्ण पुण्यभूमि हो, यस ऐतिहासिक श्री हरिहर गुफा सन्यास आश्रम । यसका संस्थापक हुनुहुन्छ प्रशिद्ध पञ्चजुना अखडा (भारत) का विख्यात स्वामी श्री १००८ दिगम्बर बाबाका वरद शिष्य “श्री १०८ स्वामी अम्बर गिरीजी महाराज” ।
सर्वाधिक योग्यतमस्थल ठम्याई वैदिक विधिपुर्वक धार्मिक तथा साम्प्रदायिक एकताको प्रतिक “श्री हरिहर भगवान” इष्टदेव रहेको यस मन्दिरमा पञ्चमुखि हुनमान, श्री गणेश, अम्बरे श्वर शिवालयको स्थापना गरी, उत्तराधिकारी शिष्य परम्परा बमोजिम आश्रम संचालन भएको छ । तत्पश्चात आश्रमको वैधानिकता आफैमा जरुरी हुने महशुस गरी वि.स. १९०६ वैशाख शुक्ल (गंगा) सप्तमीमा श्री ३ जंगबहादुर राणाबाट स्थापित इष्टदेव श्री हरिहर भगवानको पुजा आराधना गर्नु, श्री ५ सरकारको जय मनाउनु, मन्दिर वरिपरिको वन गुल्जार
गर्नु आदी अदलहरु तोकिएको सनदपत्र प्राप्त भएको थियो, जुन अद्यापि उपलब्ध छ ।
संस्थापक पश्चात उहाँका शिष्य सहदेव गिरी, के शव गिरी र देव गिरी (२०१९ मा आएर उत्तराधिकारी परम्परामा विश्राम लाग्यो। ८ वर्षको रिक्तता निभ्न लागेको आश्रमरुपी बत्तीमा तेल थप्ने काम २०३७ महाशिवरात्री देखि तपश्वी श्री धर्मदत्त वानप्रस्तीबाट भयो । यस मन्दिरलाई चिरस्थायी बनाउन २०४६ मा दर्ता भएको “हरिहर गुफा सेवा समिति” को विधानमा संन्यास आश्रम पद्धती अनुकूल हुने गरी संशोधन पश्चात तत्कालिन अध्यक्ष स्व सह से प्रेमजङ्ग खत्रीद्धारा विधिवतरुपमा संस्थापक श्री १०८ अम्बर गिरीबाट स्थापित संन्यास आश्रम पद्धतीमा पुनस्थापन हेतु मिति २०५८ असोज १३ गते मा सम्पन्न ऐतिहासिक साधारण सभाको सर्वसंमत निर्णयबाट गलेश्वर आश्रम देवघाटधामका पीठाधीश श्री १००८ स्वामी आत्मानन्द गिरिजी महाराजलाई यस आश्रमको छैटौ पीठाधीश एव समितिको अध्यक्षमा पदाशिन गराएको थियो । यस प्रकार यस आश्रमले २९ वर्ष पछि पूर्ववत उत्तर अधिकारी शिष्य परम्परा कायम गर्न सफल भएको छ। यस कार्यबाट आश्रमको वृहत्तर विकास र दिगो सञ्चालन सुनिश्चित भएको छ ।
२. पीठाधीशको परिचय
विभिन्न आरोह र अवरोह पार गर्दै वि.स. २०४५ सम्म आइपुग्दा यसको दिगो सञ्चालनमा आश्वस्त हुन सक्ने स्थिति नभएको महशुस गरी, प्रचलित कानुन बमोजिम “हरिहर गुफा सेवा समिति” नामक गैरसरकारी संस्था दर्ता गर्नु आवश्यकता महशुस भई संस्था दर्ता ऐ न २०३४ अनुसार आवश्यक विधान तयार गरी लोकबहादुर खत्रीको अध्यक्षतामा गठित तदर्थ समितिबाट वि.स. २०४६ भदौ २६ गते संस्था दर्ता गरियो । तत्पश्चात् संस्थाको विधान अनुसार कामहरु अगाडि बढ्दै गर्दा झण्डै बाह्र वर्ष पछि दैव संयोग बस विधान संशो धन समेतका सम्पूर्ण तयारी पूरा गरी वि.स. २०५८ असोज १३ गते सम्पन्न ऐतिहासिक साधारण सभाबाट श्री हरिहर गुफा सन्यास आश्रम (संशोधित विधान) को विधानमा व्यवस्था भए बमोजिम श्री गलेश्वर आश्रम, देवघाटधामका पीठाधीश अनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज पीठाधीशको गरिमामय पदमा आसिन रहिआउनु भएको छ । जुन आश्रमको लागि गौरवको विषय हो । पीठाधीश्वर श्रध्देय स्वामीज्यूको संक्षिप्त परिचय स्वभाविक चासोको विषय भएकोले निम्नानुसार समावेश गरिएको छ ।
जन्म :- लेखनाथ गा.वि.स. वडा नं. १ भण्डारढिक, कास्की । शिक्षा आर्जन :- वेदान्ताचार्य, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वराणसी, एम. ए. (तुलनात्मक दर्शन) काशिविद्यापीठ वराणसी, शांख्य-योग आचार्य (इलाहावाद) भारत ।
साधानाभ्यास हरिद्वार उत्तराखण्डको उत्तरकाशी। प्रवचनकला : अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजमा आध्यात्मिक चिन्तनको गहिरो अध्ययन रहेको तथ्य वहाँको शास्त्रीय वेदान्तिक पूर्वीय दर्शनमा आधारित दार्शनिक प्रवचन, लेखरचना आदिबाट ज्ञात हुन्छ। पौर क्षणिक सारलाई प्रष्ट्याउने गरी घरिघरि प्रयोग हुने दृष्टान्तमा उहाँको प्रवचनमा मौलिक विशेषता पाइन्छ ।
पीठाधीश : गलेश्वर आश्रम ट्रस्ट, देवघाटधाम, आत्मालोक संन्यास आश्रम- श्रुतिनगर बागडोल ललितपुर, हरिहर गुफा सन्यास आश्रम भलाम, गलेश्वर अन्न क्षेत्र संरक्षक ।
वैदेशिक भ्रमण अमेरिका, वेलायत (लण्डन) वर्मा प्रवचन श्रोता (म्यानमार), भारत ।
अन्तश्री विभूषित महामण्डलेश्वर स्वामी महाराज तपोनिधि निरञ्जनिअखडा हरिद्वार भारतका सबै महामण्डलेश्वरहरु र हजारौ साधुसन्तहरुद्धारा महाकुम्भ मेला अवसरमा वि.सं. २०६७ चैत्र २८ गते सम्पन्न भएको समारोहमा उहाँलाई अनन्तश्री विभूषित महामण्डलेश्वरको उपाधिद्वारा विभूषित गरिएको थियो । उहाँद्वारा विभिन्न कृतिहरु प्रकाशित भएका छन् ।
३. आश्रमबाट सम्पादन हुने नित्य तथा नैमित्तिक कार्यहरु
नित्य कार्यहरु :
• स्थापित इष्टदेवहरुको पूजापाठ । टीका एवं प्रसाद वितरण ।
• नित्य हवन ।
• स्वाध्याय तथा प्रवचन ।
• गौ तथा अतिथि सेवा ।
• अन्न क्षेत्र सञ्चालन र संरक्षण ।
• पितृउद्धार, तर्पण तथा भण्डारा (स १११११ जम्मा गर्नेहरुको लागि मात्र) ।
• सनदपत्र प्राप्त गरेको मिति तिथि वैशाख शुक्ल सप्तमीलाई आश्रमको वार्षिकोत्सवको रुपमा भव्य रुपमा मनाउने। सोही अवसर मा आश्रमको विकासमा उल्लेखनीय योगदान पुयाउने व्यक्ति वा संस्थालाई सम्मान गर्ने ।
नैमित्तिक कार्यहरु :
• बालाचतुर्दशीमा भव्य सत्विजारोपण मेला ।
• महाशिवरात्री मेला, सामूहिक व्रतवन्ध, सद्राभिषेक आदि
• प्रवचनादि, ज्ञानमहायज्ञ तथा पाठपारायण ।
• श्री कृष्णाष्टमी, नवदुर्गा, ऋषिपञ्चमी, रामनवमी, हनुमान जयन्ती जस्ता पर्वहरु विधिपूर्वक अनुष्ठान, पाठपारायण, भजनकिर्तनादीसहित विशेष रुपमा मनाइन्छ ।
• स्वास्थ्य शिविर सञ्चालन ।
४) आश्रममा उपलब्ध भौतिक सुविधाहरु
• अलग-अलग महिला तथा पुरुष धर्मशाला, शौचालय सहितका स्नानागार ।
• प्रवचन हल सहित २६ शैया क्षमताको सुविधायुक्त साधक निवास
• तारवार सहितको आश्रम परिसरको भित्रपट्टि ५५० मिटर लामो कटिङ्ग ढुङ्गाच्छादित परिक्रमा मार्ग ।
• भोजनालय तथा भण्डार कोठा सहितको सुविधायुक्त पाकशाला ।
• रुद्रवन तथा पुष्पवाटिका सहितको सरोवर ।
• गौशाला र आवागमनको लागि २ वटा प्रवेशद्वार ।
• इष्टदेव हरिहर, शिवपाञ्चायन, गणेश तथा पञ्चमुखी हनुमानका कलात्मक मन्दिरहरु ।
• निजी खानेपानी, ३० हजार लिटर क्षमताको पानी टंकी, बिजुली, टेलिफोन आदि सुविधाहरु उपलब्ध ।
• ८ घ.मी. क्षमताको गोवर ग्यास तथा सोलार हिटर एवं लाइट।
५) प्रस्तावित कार्यक्रम तथा योजनाहरु
श्रद्धालु भक्तजनहरुको सहयोगमा गुरुयोजनानुसार निम्न संरचनाहरु क्रमश: पूरा गर्दै जाने लक्ष्य निर्धारण गरिएको :
• पैदल तथा मोटर बाटोलाई सुधार गरी संरक्षण गर्ने ।
• भव्य तथा आकर्षक शिवालयको निर्माण गर्ने ।
• आकर्षक पुष्पवाटिका र विश्रामस्थलको निर्माण गर्ने ।
• चारधाम तथा द्वादश ज्योतिर्लिङ्गको स्थापना गर्ने ।
• उपयुक्त आकार र स्थानमा ध्यानादि साधनाको लागि गुफाहरु निर्माण गर्ने ।
• पितृउद्दार कोषको विस्तार गर्ने ।
• स्थापित अन्नक्षेत्रको विस्तार गर्ने ।
• धार्मिक पर्यटकीय स्थलको विकास हेतु पूर्वाधारहरुको निर्माण गर्ने ।
• धार्मिक तथा औषधीय महत्वका विरुवाहरु रोपी आश्रम अधिनस्थ वनलाई रुद्रवनमा परिणत गर्ने ।
• धार्मिक पुस्तकालयको व्यवस्थित सञ्चालन र विकास गर्ने ।
• स्थापित अक्षयकोषको विस्तार गरी आश्रमलाई आत्मनिर्भर तुल्याउने
• सेवामय कृयाकलापहरु सञ्चालन गर्ने ।
• यस आश्रमम परिसरभित्र कुनै समूह या संस्थाले योगाभ्यासको निम्ति प्रस्ताव ल्याएमा निर्धारित सर्तको अधीनमा रही अनुमति दिने ।
• गुरुकुल विद्यालय सञ्चालन गर्ने
• धर्मशाला निर्माण गर्ने आदि ।
६) आश्रमको समग्र विकासमा सहयोग पुयाउने उपायहरु
नितान्त आकाशवृत्तिबाट सञ्चालन भएको यस आश्रमको आफ्नो खासै आयस्रोत, गुठी, अनुदान, दातव्य, आदि केही छैन । यसर्थ चन्दा तथा अनुदान दाताबाट प्राप्त हुने सहयोग नै यस आश्रम सञ्चालनको मूल आधार हो। यसको साथै, आश्रमको श्रीवृद्धिमा आफूलाई सहभागी गर उन इच्छुक महानुभावहरुले निम्नानुसार उपाय अपनाइकन सहयोग पुयाउन सक्नु हुनेछ ।
• आर्थिक सहयोग गरी गराई ।
• पोखराको चिप्लेढुङ्गामा अवस्थित एपेक्स डेभलपमेन्ट बैंक लि. मा हरिहर गुफा संन्यास आश्रमको “बचत हिसाब न.००२०००००८१ मा सहयोग रकम निक्षेप गराएर ।
• खाद्यान्न, संत्ताकपडा, औषधी लगायत दैनिक उपभोगमा आउने जिन्सी सामान उपलब्ध गराएर ।
७) आश्रम आवागमनका योग्य मार्गहरु
• पैदल मार्ग : पो.उ.न.पा. वडा नं. १६ तल्लो दीपबाट कालीखोलाको झोलुङ्गेपुल पार गरी पो.उ.न.पा. वडा नं. २० भलाम मा अवस्थित बार युक्त गल्ली, सानो पाटन, ठूलो पाटनकाे पूर्वी भागसँग जोडिएको ठूलो गल्ली पार गरी १००८ संख्याको सिंढी हुँदै आश्रम पुग्न सकिन्छ । मोटर बाटो पो.उ.न.पा. वडा नं. ११ फुलवारी, मणिपाल हस्पिटल हुँदै रज्जनपथ भएर करिब ६ किलोमिटर दूरी तय गरेपछि पो.उ.न.पा. भलाम वडा नं. २० मा पर्ने देउरालीबाट २५ मिनेटको उकालो यात्रा पछि आश्रम पुग्न सकीन्छ ।
• पो.म.न.पा. वडा नं. १६ बडरबोट र भलाम जोडिएको पुलबाट आश्रम आवागमन गर्न सकिन्छ ।
८) आश्रममा सम्पादनहुने महत्वपूर्ण मेला तथा पर्वहरु
• यस आश्रम, हिन्दुत्वको जगमा पल्पिएका सुपरिचित एवं मूर्धन्य साधुसन्तहरुको अपूर्व चरणस्पर्शबाट थप पावन बन्ने अवसर प्राप्त गरे को छ। अफसोच यसै नगर जिल्ला र प्रदेशका कतिपय व्यक्ति, संस्था तथा धार्मिक पर्यटनसँग सम्बन्धित सरकारी कार्यालयहरु यस मन्दिरको बारेमा बेखबर रहेको अवस्था विद्यमान छ। यस अनपेक्षित अवस्थालाई निराकरण गर्न भएका प्रयासहरुबाट आंशिक सफलता जरुर मिलेको छ । आउदा दिनहरुमा सम्बन्धित सबैको सत्प्रयासबाट लक्ष्य हासिल हुनेछ भन्ने आशा समितिको रहेको छ । यद्यपि यस आश्रम, “नजिकको तीर्थ हेला” अन्तर्गत परेको छ । यहाँ सम्पादन गरिने निम्नानुसारका महत्वपूर्ण पर्वहरु र जनसहभागितालाई लेखाजोखा गर्दा यस क्षेत्र वा प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने निश्चित छ । यहाँ संचालन हुने महत्वपूर्ण मेला तथा पर्वहरु निम्नानुसार छन् ।
• महाशिवरात्री मेला
• वालाचतुर्दशी मेला
• हनुमान जयन्ती पर्व
• रामनवमी पर्व
• श्री कृष्णाअष्टमी पर्व आदि ।
उल्लिखित पर्वहरु मध्ये “बालाचतुर्दशीको” अवसरमा लाग्ने “सतविजारो पण मेला” व्यापक जनसहभागिता सहित, विविध सांस्कृतिक कार्यक्रमहरु भजनकिर्तन, नाचगान र प्रवचन समेतका कार्यक्रमहरु बीच मनाइने गरिन्छ । यस मेलामा स्वदेश तथा विदेश समेतबाट भक्तजनहरुको उल्लेख्य सहभागिता हुने गर्दछ, जुन वर्षेनी बढ्दो क्रममा रहेको छ । फलस्वरूप दोस्रो पाशुपत क्षेत्रको स्थान ग्रहण तर्फ उन्मुख छ ।
९. समितिको उद्देश्य र गन्तव्य
समिति आफैमा साध्य होइन, साधन मात्र हो । यसका आफ्नै, विधि प्रक्रिया, सीमा र बाध्यता हुन्छ । जस्को साझेपा सम्पादन नै यसको सफलता हो । त्यसको निमित्त सरोकारवालाहरुको अतुलनीय सहयोग र सद्भाव चाहिन्छ । ताकि लक्ष्य हासिल हुन सकोस । तब नै समितिको सार्थकता वा औचित्य प्रमाणित हुन्छ । समितिको लक्ष्य हासिल गर्न मुख्यतया निम्नानुसार उद्देश्यहरु किटान गरिएको छ ।
१. धार्मिक पर्यटकीय स्थलको रूपमा मान्यता दिलाई तदानुकुल विकास गर्नु,
२. धार्मिक तथा सांस्कृतिक पक्षहरूको संरक्षण हेतु अनुष्ठान अभ्यास र विस्तार गर्नु,
३. आश्रमको विशुद्ध परम्परा र मूल्यमान्यताको संरक्षण गर्नु,
४. उपयुक्त आध्यात्मिक साधना स्थलको रूपमा विकास गर्नु,
५. आश्रमको गरिमा र महिमा जनसमक्ष लैजाने सम्बन्धमा अद्यापि हुन नसकेका प्रचार र प्रसारमा थप गति प्रदान गर्नु ।
पीठाधीशज्यूको वरद नेतृत्वमा उल्लिखित उद्देश्यहरु हासिल भए पश्चात यस आश्रमले आफ्नो वास्तविक गरिमा, महिमा र गन्तव्य हासिल गरेको हुनेछ र आश्रम यस नगर जिल्लाको र प्रदेशके दर्शनीय आकर्षक धार्मिक र्यटकीय गन्तव्य बन्नेछ। यसको दिगो सञ्चालनमा मजबूत आधारशिलाहरुको निर्माण हुनेछ । ताकि यसका विगतका नमिठा भोगाईहरुबाट सदाको लागि मुक्त हुनेछ। अस्तु ।